सर्लाही । गस्तिमा रहेको प्रहरी भ्यानसँग ठक्कर खादा एक जनाको आइतबार राति ज्यान गएपछि सर्लाहीको बयलवासमा प्रदर्शन चर्किदै गएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बयलवासमा भएको प्रदर्शन थप चर्किदै गएपछि अहिले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
ईश्वरपुर नगरपालिका ५ का अन्दाजी वर्ष ३४ का राम कुमार महतोको ज्यान गएको भन्दै स्थानियले आन्दोलन चर्काएपछि प्रहरीले वरिस्ठ उपरीक्षक मसाउद आलम खानको कमाण्डमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
एक जना युवकको ज्यान गएपछि सोमबार दिनभर ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारमा प्रदर्शन भएको थियो । आक्रोशित स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय हरिपुरको भेनमा आगजनी गर्नुका साथै बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगन्जमा ढुंगामुढा समेत गरेका थिए ।
आन्दोनकारीको ढुगामुढा लागेर ११ जना प्रहरी समेत घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौं शेल अश्रुग्याँस प्रहार गरेको थियो । सोमबार दिउँसो ३ घण्टा बढी पीडितसँग भएको वार्तामा कुनै सहमती नभएकाले आज मंगलबार पुन आन्दोलन चर्किएको छ ।
पुनः प्रदर्शन हुने आंकलन गरेर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) खानको कमाण्डमा ठूलो संख्यामा सुरक्षाकर्मी बयलवास ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय सर्लाही सहित ईलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायव उपरीक्षक उमाशंकर यादवको कमाण्डमा र विभिन्न प्रहरी युनिटहरुबाट प्रहरी निरिक्षकको कमाण्डमा सोमवारदेखि नै प्रहरी टोली बयलवासमा परिचालन गरिएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी नायव उपरीक्षक दिपेन्द्र थापाको कमाण्डमा पनि ठूलो संख्यामा सशस्त्र प्रहरीको टोली तैनाथ रहेको छ । मृतक महतोको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा सर्लाहीमा राखिएको छ । मृतकका आफन्त र स्थानीय अगुवाहरुले सोमबार वार्ता स्थल छाडेर हिँडेकाले आज पुनः वार्ताका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
पीडित पक्षले मृतक महतोले चलाएको मोटरसाइकल प्रहरी भ्यानमा आएर ठोक्किएको भनिएपनि घटना शंकास्पद रहेको बताएका छन् । घटनामा संलग्न प्रहरीलाई कारवाहीको मागसहित पीडित पक्ष र स्थानीय आन्दोलित बनेका हुन् ।
त्यस्तै ठूलो संख्यामा प्रहरी घाईते हुँदा, प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाको रातारात सरुवा भएको छ । उहाँको ठाउमा स्थानेश्वर गौतम प्रमुख जिल्ला अधिकारी भएर आउनु भएको छ ।




