काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणनाका लागि खटिएका गणकमाथि जंगली हात्तीले आक्रमण गरेको छ । चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा गणना गरेर फर्किने क्रममा नवलपुरको मध्यविन्दु नगरपालिका–२ गैंडाखालमा हात्तीले आक्रमण गर्दा चार जना घाइते भएका हुन् ।
घाइते मध्ये गैंडा गणनामा खटिएका ३५ वर्षका विनोद श्रेष्ठको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि काठमाडौं पठाइएको छ । घाइते मध्ये एक जनाको जिल्ला अस्पताल मध्यविन्दुमा उपचार भइरहेको र अन्य दुई जना भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेको बताइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गैंडा गणनामा खटिएको टोलीमाथि ध्रुवे हात्तीले आक्रमण गर्दा गणनामा खटिएका कर्मचारी घाइते भएका हुन् । गैंडा गणनामा प्रयोग भएका हात्तीमाथि ध्रुवेले आक्रमण गरेपछि निकुञ्ज प्रशासनको तीन वटा हात्ती हराइरहेको उनले बताए ।






