सुर्खेत । कर्णाली प्रदेशकाे राजधानीसमेत रहेकाे सुर्खेतकाे वीरेन्द्रनगरमा साेमबार साँझबाट कर्फ्यू जारी छ । एमसीसी पारितकाे विराेधमा साेमबार आह्वान भएकाे बन्दका क्रममा एमालेकाे पार्टी कार्यालय र प्रहरी बिटमा आगजनी भयाे । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) काे कार्यालयमा तोडफोड भएपछि वीरेन्द्रनगरमा कर्फ्यूकाे स्थिति पैदा भएकाे हाे ।
शान्त वीरेन्द्रनगर कसरी एकाएक रणभूमि बन्याे ? एमसीसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै विरोध जनाउँदै आएका ६ राजनीतिक दल र दुई मोर्चाले सोमबार नेपाल बन्दको आव्हान गरेका थिए । नेपाल बन्दको आयोजना गर्ने विप्लवको (नेपाल कम्युनिष्ट पार्टी), नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पाार्टीसहितले गरेका थिए ।
कर्णालीमा यी दलको राजनीतिक संगठन त्यति बलियो छैन । सुर्खेतमा झनै कम रहेको छ । सोमबार बिहान यी राजनीतिक दलले निकालेको र्यालीमा न्यून सहभागिता थियो । कार्यकर्ता बिहानै ६ बजे नै बजार बन्द गराउँदै हिडेका थिए । बन्दका कारणले बजार, स्कुल, सवारीसाधन चल्न सकेनन् । दिउँसो १२ बजेसम्म सुर्खेत बजार शान्त नै थियो ।
मुख्य बजारका चोकचोकमा प्रहरीको बाक्लो उपस्थिति थियो । दिउँसो १२ बजेसम्म शान्त रहेको बजार क्षेत्र एकाएक रणमैदान परीणत भयो । दिनभर आन्दोलनकारी र प्रहरीबीच ठाउँ-ठाउँमा झडप भएको थियाे । झडपमा प्रहरीले अश्रुग्याँस प्रहार गर्याे । आन्दोलनकारीले ढुंगा प्रहार गर्दा प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
विशेष गरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक, यरीचोकमा तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । ‘स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको थियाे,’ उनले भने । प्रहरीमाथि ढुंगा प्रहार गर्नेमा स्कुले विद्यार्थी, सवारी चालक पनि रहेकाे प्रहरी दाबी छ ।
पार्टी कार्यालयमा आगजानी र प्रहरी बिटमा आगजनी
आन्दोलनकारीले प्रहरीसँग ठाउँठाउँमा झडप हुँदै जाँदा साेमबार साँझ वीरेन्द्रनगर-६ गोदाम लााइनमा रहेका एमालेको कार्यालयमा आगजनी गरे । नेपाली कांग्रेसको कार्यालयमा तोडफोड गरे, भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा तोडफोड गर्न लाग्दा प्रहरीले बचाएको थियो । पार्टी कार्यालय बचाउन लाग्दा मंगलगढी चोकमा रहेको प्रहरी बिट आन्दोलनकारीले जलाइसकेका थिए ।
कर्फ्यू जारी
सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले साेमबारबाट कर्फ्यू आदेश जारी गरेको हो । सोमबार साँझ सवा ८ देखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी भएकाे प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।
‘उत्तरमा कपासे, दक्षिणमा काभ्रेबिहार, पूर्वमा सुब्बा कुना र पश्चिममा बाङ्गेसिमल क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरिएको छ,’ उनले भने । स्थिति नियन्त्रणमा लिन अहिले वीरेन्द्रनगर बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।






