सर्लाही । सर्लाहीको हरिवनबाट प्रहरीले ६ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । हरिवन नगरपालिका ११ स्थित दिनेश मिठाइ पसल नजिकैबाट तास खेलि रहेका ६ जनालाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
आइतबार साँझ ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले छापा मारेर तास खेलि रहेका ६ जनालाई लाखौँ रुपैयासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार लामो समयदेखि सो स्थालमा तास खेल भई रहेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले छापा मार्दा लाखौँ रकम सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सर्लाही प्रहरीका अनुसार पक्राउ परेका ६ जना र तासको खालबाट बरामद भएको रकमको बारेमा एकिन विवरण आउन बाँकी रहेको छ । पक्राउ परेका ६ जनाको विवरण र बरामद पैसाको समेत मुचुल्का तयार गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोखरेलले जानकारी दिनुभयो ।
हरिवनको सो स्थानमा लामो समयदेखि ठुलो रकममा तास खेल भई रहेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय हरिवनले पटक पटक नखेल्न आग्रह गरेको र अटेर गरेपछि पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।






