सर्लाही । सर्लाहीको हरिपूर्वामा एक युवकको विभत्स ढङ्गले हत्या गरिएको अवस्थामा शव फेला परेको छ । हरिपूर्वा नगरपालिका–३, धनकौलका १८ वर्षका सुशील कुमार यादवको हत्या भएको प्रहरीले जनाएको छ ।
सुशीलको शव सोमबार बिहान गाउँकै आधारभूत विद्यालयको चर्पी निर्माणका लागि खनिएको खाल्डो भित्र फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियारले घाँटी रेटिएको र छिनोले आँखामा प्रहार गरेर हत्या गरिएको अवस्थामा सुशीलको शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।
भारतमा मजदुरी गर्ने सुशील केही दिनअघि मात्रै घर फर्केका थिए । सुशील गएको शुक्रबारदेखि नै घरबाट बेपत्ता भए पनि परिवारले प्रहरीमा भने खबर गरेका थिएन । परिवारका सदस्यले सुशील पुनः कामका लागि भारत नै गएको हुन सक्ने भनी बेपत्ता भएको खबर नगरेको प्रहरीले जनाएको छ ।
बिहान शव फेला परेपछि मात्रै सुशील चार दिनअघि देखि नै बेपत्ता रहेको खुल्न आएको डीएसपी यादवले बताए । मृतकको शव कीराले खान थालिसकेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।
युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको डीएसपी यादवले बताउनु भयो ।






