सर्लाही । सर्लाहीको बागमती नगरपालिका ८ का वडा अध्यक्षले नक्कली नागरिकता सिफारिस गरेका पाईएको छ । बागमती नगरपालिका ८ का वडा अध्यक्ष डम्बर बहादुर कार्कीले नक्कली नागरिकता सिफारिस गरेका पाईएको हो । उनले केटी पक्षका बाबुको नागरिकता नझिकाई एक स्थानिय दम्पतीलाई बाबुआमा बनाई भदौ २९ गते नागरिकता सिफारिस गरेका थिए ।
अन्दाजी ४६ वर्षिय शान्ति आले मगरको हाल सम्म विवाह दर्ता नभएको र नागरिकता समेत नभएको साथै उनका छोरा १७ वर्षका भई सकेका कारण उनको नागरिकता बनाउँन समस्या भएकाले शान्तीको नागरिकता बनाई विवाह दर्ता गरि छोराको नागरिकता बनाउने योजनामा रहेको धनचिङ्ग परिवारलाई वडा अध्यक्ष कार्कीले केटी पक्षका नक्कली आमाबुबा बनाई सिफारिस गरेको पाइएको हो ।
वडा अध्यक्ष कार्कीले बागमती नगरपालिका ८ कै चुन बहादुर आले मगरकी नातिनी, तुल बहादुर आले मगर र चप्पा कुमारी मगरकी छोरी शान्ती भनि सिफारिस गरेको पाइएको छ । उनले शान्तीको बागमती नगरपालिका ८ कै नर बहादुर धनचिङ्ग मगरको नाति, अमर बहादुर धनचिङ्ग मगरको छोरा केशब बहादुर धनचिङ्ग मगरसँग २०६० साल फागुन २८ गते विवाह भएको भनि सिफारिस गरेको पाइएको हो ।
वडा अध्यक्ष कार्कीले स्थानिय एक दम्पतीलाई आमाबुबा बनाइ नागरिकता बनाउन सिफारिस गरेका र सो सिफारिस लिएर बागमती नगरपालिका ८ कै सचिव देवि बहादुर मगर (गोविन्द) कहाँ जाँदा आफुले झुटा विवरण पेश गरि बनाइएको सिफारिसमा हस्ताक्षर नगर्ने बताएपछि झुटो विवरण बनाई नागरिकता बनाउन सिफारिस गरेको रहस्य बाहिरिएको हो ।
आफू कार्यालयमा नभएको समयमा वडा अध्यक्ष कार्कीले जन्म दर्ता, नागरिकता सिफारिस र विवाह दर्ताको प्रमाणित गरि वडा सचिवलाई जानकारी नगराई सर्लाही चन्दा नभइ अन्यन्त्र जन्म भएको र उसको बाबु आमाको नामथर वतन नखुलेको अवस्थामा वडा अध्यक्ष कार्कीले आफू खुसी नागरिकता सिफारिस गरेको र इलाका प्रशासन कार्यालय बरहथवामा नागरिकता बनाई सकिएको अवस्थामा पनि प्रशासनले शंका लागि चेकजाँच गर्दा नागरिकता सिफारिस नक्कली भएको पाएका कारण नागरिकता नदिएको वडा सचिव मगरले बताए ।
यता, वडा अध्यक्ष कार्कीले सचिव मगरले प्रमाणहरु जुटाएर ल्याएको र गलत सिफारिस गरेकोमा आफूले हस्ताक्षर गरेको भएपनि पछि शंका लागि ईलाका प्रशासन कार्यालय बरहथवालाई फोन गरि आफैँले नागरिकता नदिन भनि रोकेको बताए । तर, जन्म तथा विवाह प्रमाणित सम्बधमा भनि गरिएको सिफारिसमा वडा अध्यक्ष कार्की आफैँले सिफारिस गरेको पाइएको हो ।
उनले सचिव मगरका आफन्त भनि प्रमाणित गरेको भएपनि सचिव मगरका उक्त सिफारिसमा आफन्त भनिएका आलेमगर परिवारमा अहिले बोलचाल बन्द रहेको पनि वडा अध्यक्ष कार्की आफैँले स्विकार गरे । यता, त्यस प्रकारको समस्या भएमा गर्ने गराउने दुवैलाई कारर्बाही हुने र त्यस्तो छ भने तुरुन्त रोकिनु पर्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।
उनले गैर कानुनी हुने र सोही अनुसार यस्तो कार्य गर्ने गराउनेलाई तुरुन्त कारवाही गरिने पनि बताए । तर ईलाका प्रशासन कार्यालय बरहथवाले बागमती नगरपालिका हेर्ने भएकाले एक पटक त्यहाँ पनि सम्पर्क गर्न भने । ईलाका प्रशासन कार्यालय बरहथवामा सम्पर्क गर्दा कार्यालय प्रमुखको फोन उठेन ।
विवाह दर्ता गर्न दुवै पक्षका बाबुको नागरिकता चाहिने प्रावधान भएपनि वडा अध्यक्ष कार्कीले केटी पक्षका बाबुको नागरिकता नलिई स्थानिय एक आले मगर दम्पतीलाई बाबु आमा बनाई नागरिकता बनाउन सिफारिस गरेको हुन् । शान्तीको बनाई सकेको नागरिकता ईलाका प्रशासन कायार्यलय बरहथवाले खोसेर राखेको छ । वडा अध्यक्ष कार्की स्थानिय निकायको निर्वाचन २०७९ मा नेकपा (एमाले) बाट बागमती नगरपालिका ८ को वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।




