काठमाडौं । झापाको मेची राजमार्ग अन्तर्गत मेचीनगर १२ पिपलडाँगीमा दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परेर एक जना गम्भीर घाइते भएका छन् ।
चारआली-बुधबारे सडड खण्डमा गएराति ११:३० बजेतिर चारआलीतर्फ आउँदै गरेको प्र १–०१–०१४ प ३३५० र विपरित दिशाबाट जाँदै गरेको प्र १–०१–२६७८ नम्बरको दुई वटा मोटरसाइकल एकापसमा जुधेका थिए ।
दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी बसन्त पाठकले जानकारी दिए । दुर्घटनामा परेर मृत्यु हुनेमा कन्काई ४ बस्ने ३८ वर्षिय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा ४ बस्ने ४५ वर्षिय विष्णु थापा छन् ।
दुर्घटनामा परि प्र १–०१–०१४ प ३३५० नं. को मोटरसाइकलको पछाडि बस्ने कन्काईकै ५३ वर्षीय रामबहादुर अधिकारी घाइते भएका छन् । उनको बिएण्डसी हस्पिटलमै उपचार भइरहेको पाठकले जानकारी दिएका छन् ।




