काठमाडौं । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ११ वटा नयाँ परियोजना प्रस्ताव गरेको छ । मन्त्रालयले प्रस्ताव गरेको नयाँ कार्यक्रममा स्मार्ट सिटी, एक सहर एक पहिचान, कोरीडोर विकास, मेघासिटी, दमक सिटी पार्क, गरुडा चक्रपथ र पालुङ्गटार चक्रपथ, बबरमहल प्रशासनिक प्लाजा रहेका छन् ।
यस्तै चण्डीदल गण र ब्याण्डदल गुल्मका लागि भवन, ५ वटा सभाहल र ग्यालरी बैंठक निर्माण कार्य आगामी आर्थिक वर्षमा सुरु गर्न बहुवर्षिय ठेक्का सम्बन्धी मापदण्ड २०७६ बमोजिम अनुमानित लागत ५३ अर्ब २८ करोडको २५ प्रतिशत अर्थात १३ अर्ब ३२ करोड लगानी आगामी आर्थिक वर्षको बजेट सिलिङ्गमा थप गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयलाई राष्ट्रिय योजना आयोगले ३५ अर्ब १६ करोड १३ लाख रुपैयाँको बजेट सिलिङ तोकेको छ । आयोगले चालु खर्चका लागि ५ अर्ब ७ करोड ४७ लाख रुपैयाँ र पुँजीगत खर्चका लागि २९ अर्ब २८ करोड १२ लाख रुपैयाँ सिलिङ तोकिदिएको छ ।
मन्त्रालयले आर्थिक वर्षको बजेटमा ‘नेपालीको रहर स्मार्ट शहर’ भन्ने सोचका साथ धनकुटा, गौरीगंज, चन्द्रपुर, मौलापुर, काभ्रे उपत्यका, भक्तपुर, वालिङ्ग, लुम्बिनी, तुलसीपुर, दुल्लु, अमरगढी र भिमदत्तमा स्मार्ट सिटी निर्माणको प्रस्ताव गरेको छ ।
यस्तै फिदिम, बसन्तपुर, गढीमाई, टिकापुर लगायतका नयाँ शहर आयोजनालाई रुपान्तरणकारी योजनाको रुपमा कार्यान्वयन गर्न पूर्वाधार निर्माणमा लगानी बृद्धि गर्नुपर्ने प्रस्ताव पनि मन्त्रालयको छ ।
मन्त्रालयले हेटौँडा पोखरा–कुश्मा, कावासोती–गैडाकोट–भरतपुर–खैरेनीटार, सुर्खेत–छिन्चु–दशरथपुर, धनगढी–गोदावरी–शुक्लाफाँटा–भीमदत्तलगायतका क्षेत्रलाई मेगासिटीको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने प्रस्ताव मन्त्रालयको छ ।
एक सहर एक पहिचान कार्यक्रममा इलाम, दमक, सिराहा, त्रियुगा, जनकपुर, गुजरा, सिम्रौनगढ, भक्तपुर, जोमसोङ्ग, तानसेन, रुकुमकोट, चन्दननाथ र चैनपुर नगरपालिकामा पूर्वाधार निर्माण गर्ने प्रस्ताव पनि मन्त्रालयले गरेको छ ।
मन्त्रालयले वागमती, विष्णुमती, रुद्रमती, इच्छुमती, इन्द्रमती, मनोहरा, हनुमन्ते, नख्खु, कर्मनासा, मनोहरा, गोदावरी, महादेव खोला लगायतका नदीहरुमा कोरिडोर निर्माण गरी सौन्दर्यीकरण गर्ने र ९४ मिटर अग्लो नागमती ड्याम निर्माण गर्ने प्रस्ताव गरेको छ ।






