काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई भ्रष्टाचार मुद्दामा ३ वर्ष कैद सजायको फैसला गरेको छ ।
पूर्वआयुक्त पाठकले नेपाल इन्जिनियरिङ कलेजको सम्बन्धन विवादमा न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक हुँदा पाठक आयुक्त थिए । त्यसपछि उनी फरार भएका थिए ।
त्यस्तै पाठकलाई विशेष अदालतले थप ३ महिनाको कैद सजायसमेत सुनाएको छ । अख्तियारको आयुक्त भएर पनि भ्रष्टाचार गरेको पाइएपछि विशेष अदालतले थप सजाय सुनाएको हो ।
बिहिबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरू यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले फैसला गर्दै पाठक र न्यौपाने दुवैलाई कैद सजाय सुनाएको हो । उनीहरूमाथि जनही ३९ लाख रुपैयाँ जरिवानाको पनि फैसला गरेको छ ।






