जनकपुरधाम । गाँजा तान्ने विषयलाई लिएर भएको विवादमा आफ्नै साथीको हत्या गरेको आरोपमा धनुषा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरु मध्ये दुई जनालाई बिहिबार पत्रकार सम्मेलन गरी धनुषा प्रहरीले सार्वजनिक गरेको छ भने अन्य दुई जना अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेकाहरुमा जनकपुरधाम ७ जानकीनगरका २० वर्षीय अनुज तिवारी, २५ वर्षीय जियाउल राईन, वडा नं. ८ बस्ने ३१ वर्षीय राजकुमार साह र नगराईन नगरपालिका २ बस्ने २१ वर्षीय जितेन्द्र कुमार मण्डल रहेका छन् ।
धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले मृतक जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने २४ वर्षीय मो. गुलाम मंसुर भन्ने रवानी मंसुर र पक्राउ परेका युवाहरुबीच गाँजा तान्ने विषयमा विवाद भएको थियो ।
विवादकै क्रममा एक अर्कालाई धक्का दिने क्रममा रवानी मंसूरको छतबाट लडेर मृत्यु भएको हो । घटनाको अनुसन्धान गर्दै जाँदा गाँजाको अन्तिम कस कसले तान्ने विषयलाई विवाद हुँदा घटना घटेको खुल्न आएको प्रहरीले जनाएको छ ।






