सिरहा । सिरहा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई महिलालाई नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिका १४ खिरौना लच्कास्थित माडर सिरहा सडक खण्डमा दुई जना पक्राउ परेका हुन् ।
प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको चेकिङ टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा सोहीमा सवार दुई महिलालाई लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ५ रन्जितपुर टोल बस्ने २५ वर्षीया निरा कुमारी चौधरी र सिरहा १७ खैरटोका बस्ने ३० वर्षीया नमिमा खातुन रहेको प्रहरीले जनाएको छ ।
निराले बोकेको ह्यण्ड ब्याग भित्र लुकाई छिपाई ल्याएको लागूऔषध नाइट्रोभेट १० लेखिएको २० पता, नेपाली रुपैयाँ २ हजार ८०५ र ३ थान मोबाइल बरामद गरिएको छ भने खातुनको साथबाट ३१ हजार ५ सय रुपैयाँ र १ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






