धनुषा । धनुषाको शहिदनगर नगरपालिकाका एक इन्जिनियर र उनका साथी घुस रकम र चेकसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्जिनियर रमेश कुमार चौधरी र उनको साथी गुरुदेव यादव रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले उनी दुवै जनालाई घुस लिंदै गर्दा पक्राउ गरेको छ । घुस बापत लिएको एक लाख रुपैयाँ नगद र एक लाख ७५ हजारको चेक बरामद भएको अख्तियारले जनाएको छ ।
वाल निर्माण कार्यको भुक्तानी बापत इन्जिनियर चौधरीले साथीमार्फत घुस लिएलगत्तै पक्राउ परेका हुन् । शहिदनगर नगरपालिका ३ स्थित पशु सेवा केन्द्रको भवनबाट पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास लगिएको छ ।






