काठमाडौं । अरूको फेसबुक आइडी ह्याक गरी फ्रेन्ड लिस्टमा भएका व्यक्तिसँग रकम असुलेको आरोपमा प्रहरीले साउन ३१ गते पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला घर भएका चार जना रहेका छन् ।
उनीहरूले फेसबुक ह्याक गरेर फ्रेन्ड लिस्टमा भएका साथीहरूसँग पैसा मागेर रकम संकलन गरेको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो ।
प्रहरीले उक्त उजुरीमाथि छानबिन गर्दै जाँदा उक्त घटनामा संलग्न पाँच जनालाई काठमाडौंको बसपार्कस्थित रेसुंगा बुटवल गेस्ट हाउसबाट नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरामा उपमहानगरपालिका १७ घर भई काठमाडौं महानगरपालिका बसपार्क बस्ने सिमान्त लामा, बाराको सोही ठाउँ घर भई काठमाडौं बस्ने अमन्त लामा, पोखरा महानगरपालिका १० घर भई काठमाडौं नयाँ बसपार्क बस्ने सुब्बु भनिने सुभेक्षा लामा रहेका छन् ।
बारा जितपुर सिमरा नै घर भएका काठमाडौं बसपार्क नै बस्ने अनुप श्रेष्ठ र बारा सिमराको सोही ठाउँमा घर भई काठमाडौं बसपार्क बस्ने रोहन तामाङ रहेका छन् ।
कसको भूमिका के ?
पक्राउ परेकाहरूले आफूहरूले गर्ने कामको वर्गीकरण गरी सामूहिक रूपमा अपराध गरेको देखिएको प्रहरीले जनाएको छ । सिमान्त लामाले फेसबुक आइडी ह्याक गर्ने काम गरेको देखिएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ ।
त्यसैगरी, अमन्त लामाको भूमिका विभिन्न बहानामा रकम माग गर्ने देखिएको छ भने सुब्बु भनिने सुभेक्षा गुरुङ र अनुप श्रेष्ठले रकम संकलन गर्ने काम गरेको देखिएको कार्यालयले जनाएको छ । यसैगरी रोहन तामाङले सिमकार्ड उपलब्ध गराउने काम गरेको देखिएको कार्यालयले जानकारी दिएको छ ।
उनीहरूलाई साउन ३१ गते दिँउसो ३ बजे नयाँ बसपार्कबाट प्रहरीले नियन्त्रणमा लिएर ठगी तथा विद्युतीय कारोवार ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।






