सर्लाही । सर्लाहीमा स्नातक तहको परीक्षा हलबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् । सर्लाहीको बरहथवास्थित शुभ जनता बहुमुखी क्याम्पसबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
चतुर्भुजेश्वर बहुमुखी क्याम्पस हरिवनका स्ववियु सभापति प्रेमराज दाहालको परीक्षा दिइरहेको अवस्थामा नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्ववियु सभापति प्रेमराज दाहाल
स्ववियु सभापति दाहालको मानविकी संकाय अन्तर्गत स्नातक तहको दोस्रो वर्षको परीक्षा अन्य एक विद्यार्थीले दिइरहेको भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन ।
इलाका प्रहरी कार्यालय बरहथवाको प्रहरी नायब उपरीक्षकको कमान्डले परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिँदै गरेको विशेष सूचनाको आधारमा आज दिउँसो नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।
यद्यपि सभापति दाहाल भने नियन्त्रणमा आउन सकेका छैनन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दाहाल माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीबाट निर्वाचित विद्यार्थी नेता हुन् ।
यस पटक चतुर्भुजेश्वर बहुमुखी क्याम्पसको स्नातक तहको परीक्षा बरहथवास्थित शुभ जनता बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको छ ।






