महोत्तरी । महोत्तरीबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका-७ बस्ने वर्ष २३ वर्षीय जीवन तामाङ र महोत्तरी जलेश्वर नगरपालिका-७ का २५ वर्षीय सुरेन्द्र दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा जलेश्वर नगरपालिका-१ महादेव मन्दिर नजिकबाट उनीहरूलाई दुई क्विन्टल दश किलो गाँजासहित पक्राउ गरेको हो ।
बागमती प्रदेश ०१-०२६ च ४९२१ नम्बरको पिकअप गाडिलाई रोकी चेकजाँच गर्नेक्रममा गाडीभित्र लुकाइछिपाई राखिएको १४ वटा पोकामा गाँजा बरामद भएको थियो ।
पिकअप भित्र गाडीको बिचमा १४ वटा पोकामा राखिएको गाँजा चारैतिरबाट मिनिरल वाटरको बोतलले छोपिएको अवस्थामा फेला परेको थियो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






