काठमाडौं । भारतको बैंगलोरस्थित डोडाबेला भांगालामा निसास्सिएर एकै परिवारका ४ जना नेपाली कामदारको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार एक पोल्ट्री फर्ममा काम गर्ने उनीहरू एकै परिवारका थिए ।
मृत्यु हुनेमा ६० वर्षीय काले सरेरा, ५० वर्षीया लक्ष्मी सरेरा, ४० वर्षीया उषा सरेरा र १६ वर्षीया फूलमाया सरेरा रहेका छन् । प्रहरीका अनुसार उनीहरू केही हप्ताअघि मात्र नेपालबाट त्यहाँ पुगेका थिए ।
उक्त परिवारलाई पोल्ट्री फार्मनजिकै एउटा सानो झुपडी बनाइएको थियो । त्यहाँ उनीहरूले टिनको भाँडामा काठ बालेर लामखुट्टे भगाउन धुवाँ पारेका थिए ।
तर, उक्त झुपडीमा भेन्टिलेसन राम्रो नभएका कारण अक्सिजनको कमी भएर उनीहरूको मृत्यु भएको हुन सक्ने बताइएको छ । पोल्ट्रीका मालिकले फोन गर्दा नउठेपछि छिमेकीलाई त्यहाँ के भएको हो भनेर हेर्न पठाएका थिए ।
छिमेकीले घरमा हेर्दा उनीहरू सुतेकै अवस्थामा मृत देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मृत्युको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाएको छ ।




