बारा । बाराको पचरौता नगरपालिका १ पिपरपाती गाउँ नजिककै नेपाल-भारत दसगजामा सशस्त्र प्रहरीका एक पूर्वसिपाहीको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।
आइतबार मध्यराति हत्या गरिएको अवस्थामा शव फेला परेको हो । प्रहरीका अनुसार ६ महिनाअघि जागिरबाट राजीनामा दिएर घर बसेका पचरौता नगरपालिका १ का ३४ वर्षीय जवान अमरेश सिंहको हत्या भएको हो ।
हत्या आरोपमा भारतीय र नेपाली नागरिक गरी चार जनालाई नियन्त्रणामा लिएर सोधपुछ भइरहेको छ । मृतकको टाउको, घाँटी लगायतका शरीरका विभिन्न भागमा गहिरो घाउ चोट लागेको छ ।
प्रारम्भिक अनुसन्धानबाट भारतीय र नेपाली मदिरा व्यापारीहरू मिलेर रिसइबीले हत्या गरेको बुझिएको प्रहरीले जनाएको छ । घटनापछि घटनास्थल आसपास क्षेत्रमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।




