रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले लामखुट्टे मार्नका लागि छर्किएको कीटनाशक औषधि (लामखुट्टे नियन्त्रण गर्ने थर्मल स्प्रे) म्याद नाघेको भेटिएको छ । भदौं २४ गतेदेखि छर्कने काम गरिएको औषधि म्याद नाघिएको भेटिएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिकाले लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा लामखुट्टे नमरेको स्थानिय बताउँछन् । औषधि छर्किएको क्षेत्रमा खरानी छर्किए झै भएको स्थानियले बताएका छन् । छरिएको औषधिको उत्पादन मिति २०१९ मे लेखिएको छ भने २ वर्षसम्म म्याद रहने जनाएको छ । सो औषधिको म्याद गुज्रिएको ३ वर्षपछि औषधि छर्किएको पाइएको हो ।

चन्द्रपुर नगरपालिका वाड नं. ६ को मोथियाही गाउँबाट औषधी छिट्ने कार्य नगर प्रमुख संजय कुमार काफ्ले आफैले सुरु गरेका थिए । उनले औषधी एक महिना अगाडी आएको भएतापनि वर्षा तथा विभिन्न प्राविधिक कारणले औषधी छिट्नको लागी समस्या भएर ढिलो भएको बताएका थिए तर अहिले घर दैलोमा छर्किएको औषधि म्याद नाघेको भेटिएको हो ।

कीटनाशक औषधि गर्मी बढेसँगै केही दिन लगातार वर्षा भएपछि बढ्दो लामखुट्टे र डेंगु नियन्त्रणका लागि भन्दै बाराको पथलैयास्थित केन्द्रीय मेडिकल स्टोरबाट ल्याइएको थियो । यस सम्बन्धमा नगरपालिकासँग सम्पर्क गर्ने प्रयास असफल भयो । साथै वोबसाइड मार्फत जानकारी लिने प्रयास गर्दा साइट नै डाउन भएको पाइयो । यस सम्बन्धमा थप विषय हाम्रो सम्पर्क भएपश्चात पूर्ण जानकारी गराउने छौं ।




