महोत्तरी । महोत्तरीमा वृद्ध दम्पत्तीबाट ६ लाख ३६ हजार रुपैयाँ लुटेर फरार भएका युवक पक्राउ परेका छन् । गत असोज ७ गते दिउँसो वृद्ध दम्पतिबाट पैसा लुटेर फरार भएका सर्लाहीको मंलगवा नगरपालिका ५ भाडषरका २९ वर्षीय रमेश सहनीलाई प्रहरीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गौशाला नगरपालिका ११ भरतपुर टोल बस्ने शम्भु महतो र उनकी श्रीमती सुर्जकला देवीलाई छोरी पुनिता देवी महतोले ओखलढुंगाबाट आफ्नो कर्जाको रकम चुक्ता गरिदिन भनी उक्त रकम पठाएकी थिइन् ।
रकम निकाली घर फर्किने क्रममा सहनीले झुक्याएर उनीहरुसँग पैसा खोसेर भागेका थिए । खोज तलासको क्रममा बुधवार दिउँसो सहनीलाई ईलाका प्रहरी कार्यालय गौशालाको टोलीले गौशाला नगरपालिका ७ र सर्लाही हरिपुर्वा नगरपालिका ७ को सिमानाबाट पक्राउ गरेको हो । उनी माथि प्रहरीले थप अनुसन्धान थालेको छ ।




