सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका ९ भलुवाहाबाट २ सय ५० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कविलासी नगरपालिका १० का २८ वर्षीय ट्याक्टर चालक भाग्य नारायण महतो र सोही स्थानका २४ वर्षीय रवि भनेर चिनिने रवीन्द्र राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पन्जियार थारुले जानकारी दिए ।
शनिबार राति ९ बजे कविलासी नगरपालिका ९, सलेमपुरबाट भलुवाहा हुँदै गम्हरिया ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हरिपुरको टोलीले ज १ त ५५५१ नम्बरको ट्याक्टरसहित लोड गरी ल्याउँदै गरेको गाजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।
झिम नदी किनारबाट भारत तर्फ लादै गरेको अवस्थामा प्रहरीले १९ पोका (२ सय ५० किलो) गाजा ईलाका प्रहरी कार्यालय हरिपुरले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरू सार्वजनिक गरेको हो । बरामद गरिएका गाँजाको अन्दाजी मूल्य ३० लाख रहेको सर्लाही प्रहरीले जनाएको छ ।






