वीरगन्ज । वीरगन्जको अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । वीरगन्जको नेसनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा एक जना र नारायणी बयोधा अस्पतालमा एक गरी दुई जनाको उपचारका क्रममा शुक्रबार साँझ ज्यान गएको हो ।
वीरगन्ज महानगरपालिका–९ निवासी ७४ वर्षकी महिलाको साँझ साढे ५ बजे नेसनल मेडिकल कलेजले सञ्चालन गरेको कोभिड अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।
यस्तै, वीरगन्जको नारायणी बयोधा अस्पतालमा उपचाररत बाराकी एक कोरोना संक्रमितको शुक्रबार साँझ सवा ६ बजे ज्यान गएको छ । अस्पतालमा उपचाररत बाराको आदर्शकोतवाल गाउँपालिका २ बस्ने ७० वर्षकी द्रोपती मिश्राको ज्यान गएको हो ।
वैशाख ११ गते श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाई उपचारका लागि वीरगन्जको नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियो । गत १६ वैशाखमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना देखिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । मिश्रका अनुसार संक्रमित महिलाको उपचारका क्रममा शुक्रबार साँझ अस्पतालमै मृत्यु भएको थियो ।






