सर्लाही । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी १७ मा पर्ने कालिन्जोर पुल नजिक बिहिबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
कालिन्जोर पुलदेखि करिव सय मिटर पूर्वतर्फ बिग्रिएर रोकि राखेको भारतीय नम्बरको बीआर ०६ जीडी ३१४१ ट्रकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश २, ०३-००४ प ३५५ नम्बरको मोटरसाइकल ठोक्किँएको हो ।
दुर्घटनाबाट मोटरसाइकल चालक हरिवन नगपालिका ११ का २८ वर्षीय मुकेश कुमार गुप्ता र सोही मोटरसाइकलको पछाडि सवार हरिवन ११ कै ३५ वर्षीय सुनिल कुमार गुप्ताको मृत्यु भएको हो ।
मोटरसाइकल चालक मुकेशलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा र पछाडि सवार सुनिललाई जनसेवा अस्पताल बर्दिवास पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
ट्रक बिग्रिएपछि चालक र सहचालक मिस्त्री खोज्दै लालबन्दी बजारतर्फ आएको बेला दुर्घटना भएको हो । दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय लालबन्दीमा ल्याई राखिएको छ ।
ट्रकका चालक प्रहरी नियन्त्रणमै छन् । मृतक मुकेशको शव मलङ्गवा र सुनिलको शव बर्दिवासमा रहेको प्रहरीले जनाएको छ ।




