डोटी । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । शनिबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका ६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । मृत्यु हुनेमा बाजुराको हिमालि गाउँपालिका ५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने बिमला मलालकी ८ महिनाकी छोरी प्रार्थना रहेका छन् ।
घाइते हुनेमा हिमाली गाउँपालिका ५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोम बहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया बिमला मलाल र २१ वर्षकै राज बहादुर मलाल रहेको प्रहरीले जनाएको छ ।
उनीहरू मध्ये बिमलाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ भने चालक गौमुल गाउँपालिका ४ काडाकोटका २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






