गोरखा । गोरखामा आगलागीमा परेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गोरखा जिल्लाको धार्चे गाउँपालिका १ हुच्लचोकस्थित एक घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका आमाछोराको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ७५ वर्षकी कान्छी गुरुङ र उनका छोरा ३९ वर्षका चन्द्रसिंह गुरुङ रहेका छन् । जस्ताले छाएको गुरुङको एकतले घरमा अचानक राति आगलागी भएको थियो । घटनाको जानकारी प्राप्त भएलगत्तै जगत प्रहरी चौकीबाट खटिएका प्रहरीको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।
आगो पूर्ण नियन्त्रणमा आएपछि घरभित्र खोजी गर्दा दुई जनाको शव जलेर चिन्नै नसकिने अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
घरमा आगलागी भएको खबर थाहा पाउने वित्तिकै घटनास्थलमा पुगेर स्थानीयवासीले निभाउने प्रयास गरे पनि करिब दुई घण्टापछि मात्र आगो नियन्त्रणमा आएको स्थानीयवासीको भनाइ छ ।
आगलागीको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । चिसोका कारण न्यानो बनाउन घरभित्र बालिएको आगोबाट सल्किएर घरमा आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।






