जाजरकोट । जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका ४ जना दीर्घरोगीको ज्यान गएको छ । गएको कात्तिक १७ गतेको भूकम्पपछि २ हप्तामा ३ जना वृद्ध र १ महिलाको ज्यान गएको हो ।
घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका २ का ८८ वर्षीय धुलेश्वर कार्कीको मंगलबार र बारेकोट गाउँपालिका ४ जिरीका नरेन्द्रबहादुर सिंहको बुधबार ज्यान गएको स्थानीयवासीले बताएका छन् । कार्की र सिंह दमका बिरामी थिए ।
यसअघि कात्तिक २४ गते शुक्रबार नलगाड नगरपालिका ४ का ८४ वर्षका गोपालबहादुर रावल र ४८ वर्षकी पम्फा रावलको ज्यान गएको थियो । गोपालबहादुर दम र पम्फा निमोनियाबाट पीडित थिए ।
भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा धेरै परिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
बालबालिका र वृद्धवृद्धामा श्वास प्रश्वास सम्बन्धी समस्या पनि देखिन थालेको छ । भूकम्प पीडितलाई तत्कालै पाल/टेन्टको व्यवस्थापन भए पनि अब न्यानो कपडा, खाद्यान्न र अस्थायी भएपनि बसोबासको व्यवस्थापन महत्त्वपूर्ण भएको छ ।




