बारा । बाराको पचरौता नगरपालिका ७ बेनौलीमा झन्डा मेला लगाउने विषयमा विवाद भई दुई पक्षबीच झडप भएको छ । झडप हुँदा दुई जना घाइते भएका छन् । गए राति ढुंगा हानाहान गरी झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड हवाई फायर गरेको थियो ।
तनावपूर्ण स्थिति नियन्त्रणमा लिन सुरूमा प्रहरीले दुई राउन्ड हवाई फायर गरी भीड तितरबितर पारेको थियो । तर, राति पौने १२ बजे पुनः झडप भएपछि पाँच राउन्ड र तेस्रो पटक थप एक राउन्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार झडपमा पचरौता ७ बेनौली बस्ने लक्ष्मी पटेल (४०) र सोही स्थानका चण्डिका पटेल (४२) घाइते भएका छन् ।




