सिमरा । नेपाभिट ब्राण्डको टायल उत्पादन गर्दै आएको जीतपुर सिमरा ८ स्थित नेपाल सेरामिक इण्डष्ट्रिजमा आइतबार आगलागी भएको छ । आगलागीबाट करोडौं मूल्य बराबरको क्षति भएको छ ।
उद्योगबाट उत्पादन भएको टायल भण्डारण गर्ने क्षेत्रमा दिउँसो करिब साढे ३ बजेदेखि आगो लागेको हो । उक्त क्षेत्रबाट सल्किएको आगो उद्योगको अन्य स्थानमा फैलिएको थियो ।
आगो जीतपुर सिमरा, कलैया उपमहानगरपालिका, वीरगन्ज महानगरपालिका, वीरगन्जस्थित नेपाल प्रहरीको दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको थियो ।
दमकलसँगै आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र उद्योगका मजदुर खटिएका थिए । आगलागीबाट करोडौं मूल्य बराबरको क्षति भएको उद्योगका संचालक शम्भुनाथ झाका सहयोगीले जानकारी दिएका छन् ।
आगलागीबाट भएको क्षतिको विवरण पुष्टि हुन बाँकी रहेपनि कराडौं मूल्य पर्ने मेसिन, उत्पादन गरेर राखिएका टायल र उद्योगको संरचनामा क्षति पुगेको छ ।






