वीरगंज । आम जनता पार्टी (आजपा) ले आउँदो माघ १० गते मधेस बन्दको घोषणा गरेको छ । आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो ।
बैंकहरुले मनोमानि ढंगले लिइएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित तथा सहकारीबाट गरिव किसानले लिइएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज रुपमा कर्जाको व्यवस्था गर्नुपर्ने लगायतका माग गर्दै आजपाले मधेस बन्दको घोषणा गरेको हो ।
सरकारसँग यथासिघ्र माग पूरा गर्न आग्रह गर्दै आजपाले सरकारले आफूहरुको माग सम्बोधन गर्ने विषयलाई गम्भिर रुपमा नलिएको भन्दै आम हडताल गर्ने अवस्थामा पुगेको जनाएको छ ।
आजपा मधेस प्रदेशका ईन्चार्ज सुधिर यादव र अध्यक्ष उमेश कुशवाहाले संयुक्त रुपमा आज एक विज्ञप्ती जारी गर्दै सरकारलाई दबाब दिने उदेश्यले मधेस बन्दको घोषणा गरिएको जनाएका छन् ।
‘हामी मागहरुको सम्बोधन गर्न निरन्तर आवाज उठाई रहे पनि सरकार गम्भिर नदेखिएको सन्दर्भमा बाध्य भई संघर्षको कार्यक्रम घोषणा गर्नु परेको छ’ आजपा मधेस प्रदेशका इन्चार्ज यादवले भने ।
आजपाले पौष १२ गते प्रदेश स्तरीय भेला वीरगंजमा गर्ने, १३ पौष मसान्तसम्म स्थानिय तहमा पीडितहरुसँग अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने, माघ १ गतेदेखि ८ माघसम्म प्रत्येक जिल्लामा अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने जनाएको छ ।
यस्तै माघ ९ गते प्रत्येक जिल्लामा मोटरसाईकल र्याली तथा मसाल जुलुस गर्ने र १० माघमा मधेस बन्द गर्ने कार्यक्रम रहेको आजपा प्रवक्ता चन्दभुषण साहले जनाएका छन् ।





