धनुषा । धनुषामा २४ घण्टादेखि हराइरहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् । धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो ।
उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको छ । बिहिबार बेलुका ७ बजे शव फेला परेको प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । शवको प्रकृतिले घटना शंकास्पद देखिएको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक शर्माले बताए ।
सबैला नगरपालिकाका मेयर कारीराम यादवका अनुसार ती बालिका विवाहपञ्चमीको अवसरमा निकालिने मटकोरको रथ यात्रामा बुधबार सहभागी थिइन् । सतोखर पोखरीसम्म ती बालिका रथमै चढेर आएकी थिइन् । रथबाट २/३ जना युवकले उनलाई तल उतारेका थिए ।
सबै जना घर फर्किए पनि बालिका नफर्किएपछि उनको खोजी सुरु भएको थियो । त्यसै क्रममा अभिभावकले इलाका प्रहरी कार्यालय सबैलालाई खोजी गरिदिन अनुरोध गरेका थिए । खोजविनको क्रममा बालिकाको शव खेतमा खनेको खाल्डोमा फेला परेको हो ।
राति नै तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । बालिकालाई रथबाट उतार्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।




