काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश आन्दोलनको क्रममा २०७२ भाद्र २५ गते महोत्तरीमा भएको कर्त्तव्य ज्यान सम्बन्धि मुद्दामा महोत्तरी जिल्ला अदालतद्वारा बिहिबार भएको फैसला प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै लोसपाका अध्यक्ष महन्त ठाकुरले बिहिबार महोत्तरी जिल्ला अदालतले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी बल नेपालका असई थमन बिकको हत्या आरोपमा पूर्व मन्त्री तथा मधेश प्रदेशका संसदीय दलका नेता अभिराम शर्मासहितका नेताहरुलाई जन्मकैदको सजाय प्रति गम्भीर आपत्ति जनाएका हुन् ।
स्वतन्त्र न्यायालय लोकतन्त्रको आत्मा भएको भन्दै ठाकुरले न्यायालयप्रति उच्च सम्मान प्रकट गर्दै महोत्तरी जिल्ला अदालतको उक्त फैसला प्रति गम्भिर असहमति रहेको जनाएका छन् ।
बिहिबार महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरु सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको थियो ।
हत्या अभियोग लागेका नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरलाई भेन अदालतले सफाइ दिएको थियो । कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका थिए ।
अभिराम शर्मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका मधेस प्रदेशका सांसद हुन् । उनीहरू महोत्तरी ३(१) बाट निर्वाचित भएका हुन् । रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वप्रमुख हुन् ।
मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो ।





