काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतले बुधबार दोषी ठहर गरेको हो ।
पूर्वडीआईजी शाहसहित मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र, भरतपुर, चितवनका तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक (सई) दीपेन्द्रप्रसाद पनेरूलाई पनि दोषी ठहर गरेको छ ।
उनीहरूलाई तीन वर्षभन्दा माथि कैद सजाय हुने निश्चित भएको छ । आरोप लागेका प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले भने सफाइ पाएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको बुधबारको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका शाह लेखक समेत हुन् । कथासंग्रह ‘छापामारको छोरो’का लागि उनले २०६३ सालमा मदन पुरस्कार पाएका थिए ।






