सर्लाही । सर्लाहीमा एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर ज्यान लिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–१२ घारीबथानका ३५ वर्षीय शिवजी साह छन् ।
पक्राउ परेका साहलाई प्रहरीले सोही ठाउँका ५८ वर्षीय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर ज्यान लिएको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
उनका अनुसार वैशाख २० गते घर अगाडिको आँपको बगैंचामा बसिरहेका रायको शरीरमा पेट्रोल छर्की आगो लगाएको साहमाथि अभियोग छ । शरीरको अधिकांश भाग चलेर गम्भीर घाइते भएका रायलाई तत्कालै उपचारको लागि धनुषाको लालगढ मोडल अस्पताल लगिएको थियो ।
त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको कीर्तिपुर अस्पताल लगेर उपचार गराउने क्रममा रायको वैशाख २१ गते मृत्यु भएको थियो । घटनापछि फरार भएका साहलाई मलंगवा नगरपालिका–५ भाडसरस्थित नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको प्रहरी प्रवक्ता मदन कुँवरले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






