रौतहट । रौतहटमा तेल बोक्ने ट्यांकको ठक्करबाट अटोमा सवार दुई जनाको मृत्यु भएको छ । त्यस्तै घटनामा अन्य चार जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर ५ मा सोमबार राति ट्यांकरले ठक्कर दिँदा गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा घाइते दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृत्यु हुनेमा भारतको सीतामढी डुमरी घर भएका ४० वर्षीय पिंकु सिंह र सोही ठाउँका २० वर्षीय अवदेश राम रहेका छन् ।
यस्तै दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका ६ खाल्टेका ४४ वर्षीय भुपेन्द्र सहनी, चन्द्रपुर ५ का १५ वर्षीय समिर अन्सारी, रौतहटकै गरुढा नगरपालिका ६ पोठियाही घर भएका २२ वर्षीय अस्कर देवान र उनकी पत्नी २० वर्षीया जवाहिर खातुन घाइते भएका छन् ।
उनीहरुको सिभिल अस्पताल चन्द्रनिगाहपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु सबै खतरामुक्त छन् । दुर्घटनापछि प्रहरीले ट्यांकर चालकलाई पक्राउ गरेको छ ।
अमलेखगञ्जबाट पूर्वतिर जाँदै गरेको प्रदेश २ ०३ ००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले विपरित दिशातिर जाँदै गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई ठक्कर दिँदा घटना भएको प्रहरीले जनाएको छ ।




