सुर्खेत । सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरूद्व पक्राउ पुर्जी जारी भएको छ । १५ वर्षअघिको हत्याको घटनामा जिल्ला अदालत सुर्खेतले पञ्चासँगै ६ जनाविरूद्ध पुर्जी जारी गरेको हो ।
२०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो । हत्या अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो ।
सिंहसँगै टाइगर भनिने पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो ।
सुर्खेतको जनमाविमा अध्ययनरत राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो । हत्या लगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएकोमा बुबाले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए ।






