काठमाडौं । दुई करोड भ्रष्टाचार मुद्धा खेपिरहेका उपसचिवले १९ महिनापछि सफाई पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारास्थित जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईसहित दुई जना विरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले गत वर्ष असार १० गते विशेषमा प्रमुख प्रशासकीय अधिकृत सेढाईसहित ओम सप्लायर्सका प्रोपाइटर ओम शंकर प्रसाद र न्यू पाथिभरा सप्लायर्सकी सञ्चालक मीराकुमारी श्रेष्ठलाई प्रतिवादी बनाएर दायर गरेको मुद्धामा विशेष अदालतले सफाई दिएको हो ।
अख्तियारले जीतपुरसिमरा उपमहानगरको १६ नं. वडामा रहेको पसाहा खोलाको खोलाजन्य सामाग्री उत्खनन गर्दा २ करोड भन्दा धेरै राजश्व अपचलन गरेको अभियोगमा सेढाईसँग ९९ लाख ९९ हजार ९९९ रुपैयाँ र ओम सप्लायर्ससँग १ करोड ३८ लाख ९९ हजार ९९८ रुपैयाँ बिगो दाबी गर्दै मुद्धा दायर गरेको थियो । सो मुद्धामा सेढाईले सफाइ पाएका हुन् ।






