बारा । छोरीको हत्या आरोपमा बारा प्रहरीले फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोलाई पक्राउ गरेको छ । बारा प्रहरीले गत साउन ११ मा मामाघरमा बस्दै आएकी छोरी कोशिलालाई पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुलनजीक इमृति खोला किनारमा हत्या गरेर शव फालेको कसूरमा पक्राउ गरेको जनाएको छ ।
कोशिलाको टाउको नभएको अवस्थामा शव फेला परेको र पछि अनुसन्धानबाट उनको टाउको ५० मिटर दूरीमा भेटिएको थियो । सो शव कोशिलाको भएको २० दिनअघि मात्र बारा प्रहरीले पहिचान गर्न सकेको थियो । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक कोमल शाहले साउन १३ गते फेला परेको शव बारेमा पहिचान नभएपछि सो सम्बन्धी मुद्दा थाती राखेका थिए ।
महिन्द्रकी छोरी साढे पाँच महिनादेखि बेपत्ता रहेको बारेमा स्थानीयले बारा प्रहरीलाई जानकारी गराएपछि यस सम्बन्धमा छानबीन भएको र हत्या भएको कुरा प्रकाशमा आएको थियो । अहिले महिन्द्रले छोरीको हत्या आफैंले गरेको स्वीकारेको बारा प्रहरीले जनाएको छ ।
बारा प्रहरीले महिन्द्रको छोरी हराएको सम्बन्धमा परिवारका २० जनाभन्दा बढी व्यक्तिसँग सोधपूछ गरेको तर निजका पिताले भने शुरूमा छोरी हराएको भनेर घटना लुकाउन खोजेको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
अनुसन्धानको क्रममा छोरीलाई घरबाट मामाघर लगेर हत्या गरिएको पुष्टि भएको उनले दाबी गरेका छन् । प्रहरी प्रवक्ता न्यौपानेले कक्षा ८ मा अध्ययनरत कोशिलाको स्थानीय एक युवकसँग प्रेम सम्बन्ध भएको र सोही कारणले उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए ।
पक्राउ परेका महिन्द्रले दुई जनासँग सहयोग लिएर छोरीको हत्या गरेको र टाउको काटेर अन्यत्र फालेको स्वीकारेका छन् । पक्राउ परेका महतोले घटना पर्सा जिल्लामा घटाएकाले बारा प्रहरीले पर्सा प्रहरीलाई जिम्मा लगाएको प्रवक्ता न्यौपानेले बताए ।




