काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मालपोत अधिकृतसहित पाँच जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । बिहिबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले भैरहवाका नापी अधिकृत घनश्याम दुवे लगायतलाई दोषी ठहर गरेको हो ।
नापी कार्यालय रुपन्देही, भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक रामराज यादव, जग्गाधनी मुना पासिनले र हालका जग्गाधनीहरु कल्पना ज्ञवाली र माधव न्यौपाने दोषी ठहर भएका हुन् । उनीहरु विरुद्द २०७५ को माघ १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बिहिबार विशेष अदालतले दोषी ठहर गरेको हो ।
उनीहरुले रुपन्देही सिद्धार्थनगर ३ को सरकारी जग्गा हालसाविक गर्दा अन्जनी बाँनियाको नाममा गरिदिएका थिए । मिलोमतोमा ६ कठ्ठा ६.५ धूर सरकारी जग्गा बानियाँको नाममा गरेको विशेषले ठहर गरेको छ ।






