सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट माधव नारायण नगरपालिका २ बस्ने ३६ वर्षीय संजय सहनी र सर्लाही बलरा नगरपालिका ७ बस्ने २३ वर्षीय अम्रेन्द्र महरा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले प्र ०२-०२७ प ४२५६ नम्बर र बिआर ३० एसी ८३१८ नम्बरका दुई वटा मोटरसाइकललाई जाँच गर्न खोज्दा दुवै चालकहरू भाग्न खोजे पश्चात दुवैलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त परिमाणको नक्कली नोट र गाँजा फेला परेको हो ।
प्र ०२०२७ प ४२५६ नम्बरको मोटरसाइकल चालक संजयको साथबाट उक्त परिमाणको नक्कली नोट र बिआर ३० एसी ८३१८ नम्बरको मोटरसाइकल चालक अम्रेन्द्रको साथबाट लागूऔषध गाँजा फेला परेको हो ।
संजयको साथमा रहेका २५ बन्डलमध्ये २१ बन्डलमा तल र माथि १ हजार दर साइजको नक्कली नोट र बिचमा नोटको साइजमा काटेको सादा कागज र ४ बन्डलमा टेस्टी बिस्कुटको २० पुरियामा तल माथि नक्कली जस्तो देखिने १ हजार दरका नोट प्लाष्टिक र टेपले बेरेको अवस्थामा रहेको फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।






