वीरगंज । रौतहटको ईशनाथ नगरपालिका ६ र ७ बाट शुरू भएको सरस्वतीपूजाको मूर्ति सेलाउने विषयलाई लिएर सोमबार वीरगंज तनावग्रस्त रह्यो । हिन्दू समाजको आयोजनामा सोमबार वीरगंज बन्द आह्वान गरिएको थियो । रौतहट घटनालाई लिएर हिजो हिन्दूवादीहरूले प्रदर्शन गर्दै बन्दको आह्वान गरेका थिए ।
बिहानदेखि हिन्दूवादीहरूले वीरगंजमा प्रदर्शन गर्दै रौतहट घटनाको विरोध गरेका थिए । उनीहरूले प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापन बुझाएका थिए । दिउँसो प्रदर्शनको क्रममा चिकित्सक सघंको भवनमा रहेको औषधि पसलमा तोडफोड गरिएपछि स्थिति तनावपूर्ण भएको हो ।
छपकैयाका मुस्लिम समुदायका युवाहरूले तोडफोडको विरोध गर्दै प्रदर्शन गरेका थिए । मालपोत चोकमा जनपद र सशस्त्र प्रहरीको टोली रहेपनि सोदेखि ५० मिटर दूरीमा घटना हुँदा प्रहरी मूकदर्शक रहेको थियो । घटना भएपछि मात्र प्रहरीले हस्तक्षेप गरेको थियो । मुस्लिम युवाहरूको प्रदर्शनलाई महावीरचोकभन्दा अगाडि जान दिइएन ।
दिनभरि वीरगंजको इदगाहचोकदेखि घण्टाघरसम्म मेनरोडका पसलहरू बन्द रहे भने बेलाबखत प्रदर्शन र होहल्ला भई रहे । यसैक्रममा इदगाहचोकमा मुस्लिम समुदायले प्रदर्शन गर्दै आवागमन ठप्प पारेर सडकमा टायर बालेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको र इनर्वाका एकजना युवक घाइते भएका थिए ।
प्रहरीले लाठीचार्ज, अश्रुग्याँस र हवाई फायर गरेको थियो । यसैगरी, झडपमा प्रहरीतर्फ ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक धुर्व श्रेष्ठले बताए । वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्षक धर्मजङ्ग सिंहसहित प्रसनि, हवलदार, सहायक हवलदार र प्रहरी जवान गरी ११ जना घाइते भएका प्रनाउ श्रेष्ठले बताए ।




