सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ७ को माछा बजार दिन प्रतिदिन दुर्गन्धीत भएको छ । सामान्य पानी पर्दा पनि हिल्लामे हुने र फोहोर व्यवस्थापन समेत उचित तरिकाबाट नहुँनुका साथै लालबन्दीको बीचमा हप्तामा दुई दिन लाग्ने बजारको व्यवस्थापन नहुँदा दिन प्रतिदिन दयनिय बन्दै गएको छ ।
लालबन्दी नगरपालिका ७ को भित्रि बजार जहाँ सोमबार र बिहीबार बजार लाग्ने गर्दछ । बजारको व्यवस्थापन समिति रहेपनि बजारको व्यवस्थापन गर्न चासो नदेखाएका कारण बजारमा किनमेल गर्न जानेहरु पनि हैरान भएका छन् ।
भाँडाकुँडा, खाद्यान्न तथा कपडाहरु र श्रृंगारका सामानहरुको स्थायी सटरहरु बनाइएका भएपनि पशुपंक्षि तथा तरकारी र माछामासुका लागि भने बाहिरै राख्नु पर्ने बाध्यता रहेको र ती सामाग्रीहरुबाट निस्केका फोहोरको व्यवस्थापन गर्न सरोकारवाला निकाय बजार व्यवस्थापन समिति र वडा अध्यक्षले चासो नदेखाउँदा आफुहरु दुर्गन्धीत बजारमा व्यापार गर्न बाध्य भएको व्यापारीहरुको गुनासो छ ।
आफुहरुले व्यापार व्यवसाय गरे वापत समिति, वडा कार्यालय र विद्यालयलाई कर समेत बुझाई रहेको व्यापारीहरुले बताएका छन् । उक्त क्षेत्रमा लगाईने बजार जनज्योती मावि लालबन्दीको जमिन रहेको र उसले बजार बसाएर कर लिने गरेको छ ।
सो बजारमा करिब ८ सय स्टलहरु रहेका र प्रति सटरको प्रति फिट नापेर विद्यालयले कर असुल्ने गरेको छ । त्यस्तै, सटर नहुने र अस्थायी रुपमा बस्नेहरुका लागि भने समितिले हप्तोकर असुल्ने गरेको छ । यसरी कर तिरेर आफुहरु बसेको भएपनि समिति र विद्यालयले कुनै व्यवस्था नगरि दिँदा वर्षामा घुँडाघुँडा पानी जम्ने साथै माथिल्लो क्षेत्रका निजि जमीनमा व्यापार गरि रहेकाहरुले ढल व्यवस्थापन नगरि उसै छाडिदिँदा आफुहरु थप मारमा परेको व्यापारीहरुको गुनासो छ ।
बजार लाग्नेदिन बाहेक अरु दिन पनि बजार क्षेत्रभित्रै हिलो र नालाको फोहोर पानी जमेर पैदल यात्री तथा सेवाग्राहीहरुलाई हिंडडुल गर्न समस्या हुने गरेको स्थानीय व्यापारीहरुले बताएका छन् । तरकारी तथा मासु पसलबाट निस्कने फोहोरका साथै बजारभरीको फोहोर समेत जथाभावि रुपमा फालिने भएकाले दुर्गन्ध बढ्दा बजारमा किनमेल गर्न आएका सेवाग्राहीहरु पनि नाक मुख थुनेर हिड्न बाध्य भएका छन् ।
यस्ता समस्याबाट स्थानीय व्यापारीहरु तथा सेवाग्राहीहरु पिडित भइरहेको देख्दा देख्दै पनि लालबन्दी नगरपालिका वडा नम्बर ७, उद्योग बाणिज्य संघ लालबन्दी, बजार व्यवस्थापन समिति र जनज्योती मावि मौन देखिएको छ । आफुले सरोकारवाला निकायहरुको बैठकहरुमा बजार व्यवस्थापनका लागि कुरा उठाउने गरेको भएपनि नगरपालिका लगायत अन्य सरोकारवाला निकायहरले चासो नदेखाएका उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले बताउनु भयो ।
उहाँले विद्यालयले कर लिएको कारण नगरपालिकाले चासो नदेखाएको आफुलाई शंका लागेको बताउनु भयो । नगरपालिका विद्यालयलाई दोष देखाउने र विद्यालय कर असुलीमै व्यस्त रहने गरेका कारण बजारका व्यापारी व्यवसायीहरु र सेवाग्राहीहरु मर्कामा परेको अध्यक्ष जोशीको भनाई छ ।
यता, बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र योञ्जनले आफुहरुले काम गरी रहेको र अब ढल निकासको काम बाँकी रहेको बताउनु भयो । उहाँका अनुसार ढल निकायका लागि स्थानिय सरकार लालबन्दी नगरपालिका ७ वडा कार्यालयले आवश्यक सहयोग नगरेको कारण समस्या सृजना भएको र चाहेर पनि आफुले ढल निकायको काम गर्न नपाएको बताउनु भयो ।
वरीपरी स्थानियको निजि जमिन पर्ने र निजि जमिनमा ढल निकास गर्न नदिने भएका कारण आफुहरुले चाहेर पनि ढल निकासको काम गर्न नपाएको उहाँले बताउनु भयो ।
जनज्योती मावि लालबन्दीका विद्यालय व्यवस्थापक समितिका अध्यक्ष मनिश माझीका अनुसार विद्यालयले करिब ४ सय ५० वटा सटर र स्टलहरुबाट प्रति महिना रु ५ सय देखि रु १ हजार ५ सय सम्म शुल्क उठाउने गरेको र बार्षिक करिब रु ७५ लाख रकम संकलन हुने गरेको बताउनुभयो । उहाँले मासु पसलहरु र पशु चौपाएको विक्रि वितरण हुने ठाउँ नगरपालिकाले नै ठेक्का लगाउने गरेको बताउनु भयो ।
ढल निकाय नहुँदा सो क्षेत्रमा व्यापारीहरु र सामान खरिद गर्न आउने सेवाग्राहीहरुलाई हिउँदामा धुलाम्मे र वर्षामा हिल्लाम्मे हुने गरेका कारण समस्या भएको भएपनि बजार व्यवस्थापन समिति र विद्यालय विच तालमेल नमिल्दा काम हुन नसकेको बताउनुभयो ।
सो क्षेत्रमा साप्ताहिक रुपमा हाट लाग्ने गरेको छ । बजार लाग्ने सो क्षेत्रको जमिन जनज्योती माविको रहेका कारण पनि उक्त क्षेत्रमा व्यापार व्यवसाय गर्दा विद्यालयलाई शुल्क बुझाउनु पर्छ । त्यसैगरी लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष सुरेन्द्र कुमार न्यौपानेले आफुले आफ्नो वडाबाट हुने सहयोग हरेक वर्ष गरी रहेको बताउनुभयो ।
उहाँले आफुले गर्न थालेको काममा साथ सहयोग नपाएका कारण र सबै बजेट एकै स्थानमा लगाउन पनि सम्भव नभएका कारण भित्रि बजारको ढल निकासको काम केही ढिलो भएको भन्दै चाँडै सो क्षेत्रको ढल निकासको काम गर्ने बताउनु भयो । उहाँले बजार व्यावस्थापन र सुन्दर बजार बनाउन यसैवर्ष पनि वडाबाट केही रकम व्यावस्था गरि बाटो बनाएको बताउनु भयो ।
उक्त क्षेत्रमा तरकारी, फलफुल, माछा, मासु, पशुचौपाय लगायत मदिरा भट्टी समेत सञ्चालनमा रहेका छन् भने स्टल तथा सटर राखेर भाडाकुँडा देखि लिएर कपडा तथा श्रृगारका सामानहरु हरेक दिन पाईन्छ । तरकारी तथा फलफुल र माछा, मासु, पशुचौपाय लगायत मदिरा भट्टीको सरसफाईमा कमि रहेका कारण पनि समस्या सृजना भएको व्यापारीहरुले बताएका छन् ।






