रौतहट । योजना अनुगमन समितिको संयोजक आफै भएरपनि गुजरा नगरपालिकाकी उप–प्रमुख रत्ना लामाले बिना इस्टमिट बिना कार्यआदेश विकास निर्माणको काम थालेको पाइएको छ ।
गुजरा नगरपालिका वडा नं. ४ जंगलसहिया बजारमा उनी २० लाखको योजना छुट्याएर मनलाग्दी बिना इस्टमिट बिना कार्यआदेशको विकास निर्माणको काम गर्न थालेको पाइएको हो ।
उपप्रमुख लामा इस्टमिट र कार्यआदेश बिनै विकास निर्माणको काम गर्न थालेपछि नगरपालिकाका प्रविधिक टोलि गएर काम रोकेको छ । उपप्रमुख लामा अन्य शीर्षकको योजना कटौती गरी आफूलाई मुनाफा हुने जंगलसहिया बजार क्षेत्रमा पिसिसी ढलान गराउन लागि परेको स्थानिय बासिन्दाको भनाइ रहेको छ ।
आउने दिनमा पानीको निकासी र बजार व्यवस्थापनको ख्याल नै नगरी मनोमानी ढंगले काम सुरु गराएको स्थानियको भनाइ छ । इस्टमिटर कार्यआदेश बिना काम सुरु गरेपछि स्थानियबासी र बजार समितिले विरोध गरेपछि नगरपालिकाका प्रविधिक टोलि गएर काम रोकेका छन् ।
नगरपालिकाका प्रविधिक शाखा प्रमुख श्रमण कुमार चौधरीले उपमेयर लामा बिना इस्टमिट बिना कार्यआदेशकै काम सुरु गरेको स्वीकार्य गर्दै आफूहरुले सो काम रोकिसकेको बताए ।
उपमेयर लामाले उपभोक्ता समिति समेत गठन नगरी विकास निर्माणको कार्य थालेको गुनासो आएलगत्तै सो कार्य रोकेको उनले बताए । बिना इस्टमिट बिना कार्यआदेश र उपभोक्ता समिति विना कार्य गर्दा भुक्तानीमा समेत समस्या हुने उनको भनाई रहेको छ ।
नगर प्रमुख सन्तलाल चौधरी, उपप्रमुख, वडा अध्यक्ष लगायत विभिन्न राजनितिक दलका शिर्ष नेता तथा समाजसेवीहरुको उपस्थितिमा बजार व्यवस्थापन समिती गठन भएतापनि समितीलाई बेवास्ता गरी उपप्रमुखले जबर्जस्ति योजना शिलान्यास समेत गरेकी छन् ।




