रौतहट । रौतहटको एक अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ । यमुनामाई गाउपालिका वडा नं. १ सुकदेव चौकमा रहेको सगरमाथा तराई हस्पिटल प्रा.लि. मा कार्यरत ३ जना स्वास्थ्यकर्मीको प्रमाण पत्र नक्कली फेला परेको हो ।
पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना ढाका वडा नं. १४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना सिकारगंज वडा नं. ३ वटोआ बस्ने २७ को मो. तबरेज आलम र यमुनामाई गा.पा.वडा नं. २ भेडियाहीटोल बस्ने २७ को कलाम मन्सुरी रहेको प्रहरीले जनाएको छ ।
शैक्षिक योग्यता प्राप्त नगरेका, उपचार गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरुबाट विरामीहरुको एपेन्डिस, पायल्स लगायतका शल्यक्रिया हुँदै आएको भन्ने सूचनाको आधारमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनीहरुलाई गत फागुन १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।
उपचार गर्न पाउने ईजाजत पत्र माग गर्दा तोकिएको शैक्षिक योग्यताको प्रमाण पत्र नभएकोले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।




