बारा । बाराको निजगढस्थित वर्कसपमा भएको विस्फोटबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । निजगढ नगरपालिका ७ सहिद चोकमा रहेको रोहित वर्कसपमा सोमबार दिउँसो विस्फोटक पदार्थ पड्किदा वर्कसप सञ्चालक रेशम मगरको मृत्यु भएको थियो ।
वर्कसपमा ग्राहकले ल्याएको शंकास्पद वस्तु खोल्ने क्रममा उक्त वस्तु विस्फोट हुँदा रेशमसहित पाँच जना घाइते भएका थिए । वीरगन्जमा उपचाररत घाइते मध्येका भारत घर भएका राकेश जैसवालको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको र अन्य दुईको अवस्था सामान्य रहेको बारा प्रहरीका सूचना अधिकारी डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार वर्कसपमा विष्फोटक पदार्थ कहाँबाट आयो भन्ने अनुसन्धान भइरहेको छ ।




