वीरगंज । विद्यालयले शुल्क तिर्न ढिला भएको अवस्थामा विद्यार्थीलाई कुट्ने, घाममा उभ्याउने र शुल्कको लागि मानसिक यातना दिने घटना सार्वजनिक भएको छ ।
वीरगंज ३ छपकैया निवासी घनश्याम ठाकुरले जिएचपी स्कूलविरुद्ध आफ्ना छोराछोरीलाई यातना दिएको भनी महानगरमा लिखित उजूरी गरेपछि घटना बाहिरिएको हो ।
उनले दुई वर्षदेखि सो विद्यालयमा छोराछोरी अध्ययन गरिरहेको र पछिल्लो समयमा आफ्नो आर्थिक अवस्था कमजोर भएपछि शुल्क तिर्न ढिला भएको र सो क्रममा विद्यालयले छोराछोरीलाई कुट्ने, घाममा उभ्याउने र शुल्कको लागि मानसिक यातना दिने गरिएको बताए ।
उनले आफ्नो क्षमता भएपछि शुल्क तिर्ने र हाल आफूलाई आर्थिक सङ्कट भएको भनी लिखित कागज गर्न तयार भएपनि विद्यालयले सो कुरा नमानेको र पटक पटक तीनरचार घण्टासम्म कक्षा बाहिर घाममा उभ्याएर यातना दिएको भन्दै महानगरमा उजूरी दिएका छन् ।
उनले घटना बारेमा महानगरमा बुधवार लिखित उजूरी दर्ता गराएको र छोराछोरीलाई विद्यालयबाट हटाएको बताए । उनले शुल्क तिर्न नसक्दा विद्यालयले अर्धवार्षिक परीक्षामा पनि सहभागी नगराएको बताए ।
महानगर शिक्षा महाशाखाका हरि राउतले घटना बारे आफूले विद्यालयको ध्यानाकर्षण गराएको र विद्यालयले ठूलो परिमाणमा शुल्क बाँकी रहेको तथा कुनै पनि प्रकारको यातना नदिएको जनाएको बताए । उनले विद्यालय पक्षले यातना दिएको प्रमाणित भएमा जुनसुकै सजाय भोग्न तयार रहेको जनाएको बताए ।




