काठमाडौं । क्षत्रपाटी चिकित्सालयले किन्न लागेको सिटी स्क्यानविथ कार्डियाक, डिजिटल मेमोग्राम मेशिनको टेण्डर प्रक्रियाको आर्थिक प्रस्ताव नखुल्दै तीन करोड रुपैयाँ अनियमितता भएको भन्दै केहि अनलाइन सञ्चार माध्याममा आएको समाचार गलत र दुराशयपूर्ण रहेको भन्दै आपत्ति जनाएको छ ।
आइतबार चिकित्सालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक खरिद ऐनको आवश्यक प्रक्रिया पुरा गरी ती मेसिन खरिद गर्ने प्रक्रिया सुरु गरेको तर त्यसको आर्थिक प्रस्ताव नै नखुलेको अवस्थामा अनियमितता भएको भन्दै समाचार लेखिनु हास्यास्पद र दुराशयपूर्ण रहेको जनाएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयमा बन्द रहेको सामान खरिदको प्रस्ताव खोल्नु अघि नै यति रकम अनियमितता भयो भनेर समाचार प्रकाशित गर्नु आफैमा दुरासयपूर्ण समाचार भएको भन्दै चिकित्सालयले स्पेशिफिकेशन लक्ड गरिएको र खुल्दै नखुलेको आर्थिक प्रस्तावमाथि अनियमितता भएको भन्ने तथ्य पुष्टि गर्न चुनौति दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) ले सार्वजनिक खरिद ऐनको आवश्यक प्रक्रिया पुरा गरी सिटी स्क्यानविथ कार्डियाक, डिजिटल मेमोग्राम मेशिन खरिद गर्ने प्रक्रिया सुरु गरेको हो ।’ सो विज्ञप्तिमा अगाडी भनिएको छ, ‘स्पेशिफिकेशन लक्ड गरिएको कुरा असत्य र झूठा हो ।’
अस्पतालले तयार पारेको स्पेशिफिकेशन अनुसार हाल नेपालमा सिटीस्क्यान मेशिन विक्री गर्दै आएका हिटाची, सिमेन्स, नियोसफ्ट, क्यानन लगायतका कम्पनीहरुले टेण्डर हाल्न सक्ने अवस्था रहेको र प्रिबिडिङ छलफलमा समेत सहभागी भएकोले तथ्यबाट समेत पुष्टि हुने हुँदा उक्त समाचार त्रुटीपूर्ण रहेको जनाएको छ ।




