कञ्चनपुर । कञ्चनपुरमा एक किशोरको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । किटानी जाहेरी दर्ता भएको झन्डै एक महिनापछि आइतबार आरोपित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार कात्तिक २४ गते बेलौरी नगरपालिका ९ का १८ वर्षीय अनुस राना सोही ठाउँको सामुदायिक वनको रूखमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
त्यसबेला आफन्तले उनको हत्या भएको बताएपनि सामान्य जाहेरी दिएका थिए । तर नाम किटान गरेका थिएनन् । माघ २६ गते भने अनुसको हत्या आरोपमा उनको परिवारले ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता गराए ।
जाहेरीको आधारमा बेलौरी नगरपालिका ९ का वडाध्यक्ष किसन सिंह रानासहित सोही ठाउँका स्थानीय सुकदेव राना, भंगी राना, अनिरुद्र राना, दुक्खो राना र सुरज राना पक्राउ परेका हुन् ।
पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । अनुसन्धान पूरा गरेर केही समयपछि अदालतमा पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृत फेला परेका किशोर मजदुरी गर्दै आएका थिए ।




