बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ तीन नम्बर पुलनजीकै यात्रुवाहक बस दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
धनगढीबाट विराटनगर गइरहेको ना ६ ख ९०३० नम्बरको यात्रुवाहक बस अपराह्न ४ बजे तीन नम्बर पुलनजीकै अनियन्त्रित भई ३५ फिट तल खसेको थियो ।
२७ जना घाइतेमध्ये पाँच जना सामान्य घाइतेलाई प्रारम्भिक उपचार गरी घर पठाइएको छ भने बाँकी २२ जनाको हेटौंडाको सरकारी अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ ।
बारा प्रहरीका प्रवक्ता एवम् प्रनाउ दधिराम न्यौपानेका अनुसार बालबालिका, युवा, वयस्क लगायत गरी २२ जनाको उपचार भइरहेको छ ।
घाइते हुनेमा सर्लाही, धनुषा, पर्सा, मकवानपुर, चितवन, सुनसरीलगायत जिल्लाका घाइतेहरू रहेका छन् । घाइतेहरूको हात, खुट्टा, मुख, छाती लगायत ठाउँमा चोट पटक लागेको छ ।




