बारा । सिम्रौनगढ नगरपालिकाको नगरसभा फागुन २१ गते सोमबार सम्पन्न भएको छ । लामो समयदेखि नगरसभा हुन नसक्दा सिम्रौनगढ नगरपालिकाको काम प्रभावित भएको थियो ।
उपप्रमुख नजमु सेहर लगायत नेकपा (समाजवादी) र नेपाली कांग्रेसका वडाध्यक्षहरू नगरप्रमुख किशोरीप्रसाद कलवारको कार्यशैलीबाट रुष्ट भएका कारण उनीहरूको अवरोधले नगरसभा हुन सकेको थिएन ।
असार १० गते हुनुपर्ने नगरसभा हालसम्म हुन नसक्दा शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको तलब लामो समयदेखि बक्यौता थियो । करार, अस्थायी, दैनिक ज्यालादारीहरूको १८ महिनादेखिको तलब बाँकी थियो भने स्थायी कर्मचारीहरूको पनि सात महिनादेखिको तलब बाँकी भएको थियो ।
नगरसभा नहुँदा तलब सुविधा नपाएको भन्दै वडा समिति, नगर अस्पताल, सामुदायिक विद्यालयहरूमा सेवा अवरुद्ध भएका थिए । शिक्षकहरूले अध्यापन बन्द गरेर धर्ना र हडताल गरेका थिए भने नगर अस्पताल पनि सञ्चालनमा आउन सकेको थिएन ।
औषधि लगायतका सामग्रीको अभाव र कर्मचारीले तलब नपाएको अवस्थामा नगर अस्पताल पनि सञ्चालनमा थिएन । सिम्रौनगढ नगरपालिकामा नगरप्रमुख कलवार लोसपाबाट जितेका हुन् ।
उपप्रमुख सेहर पनि लोसपाकै हुन् र दुई जना वडाध्यक्ष लोसपाका छन् । बाँकी एक जना नेकपा (एस) र आठ जना नेपाली कांग्रेसबाट छन् । नगर प्रमुखविरुद्धको अभियानमा लागेका उपप्रमुख सेहर, वडाध्यक्षद्वय नेकपा (एस) का रामदिनेश यादव र नेकाका अवधेश सहनीले नगरसभामा सहभागिता जनाएनन् ।
उनीहरूबाहेक नगरप्रमुख र नौ जना वडाध्यक्षको सहभागितामा नगरसभा सम्पन्न भएको हो । नगरप्रमुख कलवारले नगरसभा सम्पन्न भएको र कोलेनिकाबाट बजेट निकासा गरी कर्मचारीहरूलाई तलबभत्ता उपलब्ध गराउनुका साथै अन्य कार्य गर्ने बताए ।




