वीरगंज । ठोरी गाउँपालिकामा सोमबार दिउँसो बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । ठोरी गापा ४ मालीबस्तीस्थित खेतमा काम गरिरहेको बखत स्थानीय ४० वर्षीया कलावती देवीलाई अपराह्न ४ बजे बाघले आक्रमण गरेकोमा निजको घटनास्थलमैं मृत्यु भएको हो ।
उक्त समय चार जना महिला खेतमा काम गरिरहेकामा सीमावर्ती भारतको टाइगर्स टप्स जंगलबाट बाघ आएर आक्रमण गरेको थियो । बाघले मृतक महिलाको टाउकोमा आक्रमण गरेको कारण निजको घटनास्थलमैं मृत्यु भएको र अन्य तीन जना महिला भाग्न सफल भएका थिए ।
घटना बारे जानकारी गराइएपछि पर्सा राष्ट्रिय निकुञ्ज र बफरजोनका पदाधिकारीहरू घटनास्थलमा पुगेका थिए । पर्सामा बाघको आक्रमणबाट विगत तीन महिनामा दुई जनाको मृत्यु भइसकेको छ ।




