काठमाडौं । कोभिड-१९ को उपचारका लागि विराटनगरमा एचडीयू जडान तथा सञ्चालनका सामग्री खरीदमा भ्रष्टाचार गरेको आरोपमा ६ जना र एक कम्पनी विरुद्द मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संलग्न सरकारी कर्मचारी र मेडिकल व्यवसायी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारको अनुसन्धानमा २ करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ राज्यलाई हानी नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले बताए । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ केन्द्रमा कोरोना भाइरस संक्रमितको उपचारका लागि एचडीयू (हाइ डिपेन्डेन्सी यूनिट) जडान गरिएको थियो ।
एचडीयू जडान र सञ्चालनका लागि सामग्री खरीद गर्दा परेका बोलपत्रमध्ये न्यून कबोल गर्नेलाई छनोट नगरी अनियमितता गरिएको अख्तियारको दाबी छ । न्यून कबोल गर्ने र छनोट हुनेबीच २ करोड ८९ लाख ६६ हजार ५० रुपैयाँको फरक छ । प्रक्रिया बमोजिम नगरी बढी कबूल गर्नेलाई ठेक्का दिएर राज्यलाई हानी नोक्सानी पुर्याएको अख्तियारले जनाएको छ ।
यसमा संलग्न रहेका उपकरण खरीद मूल्यांकन समितिका संयोजक एवम् स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, मूल्यांकन समितिका सदस्य एवम् प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरका बायोमेडिकल इन्जिनीयर कुशल दाहाल, समितिका सदस्य एवं स्वास्थ्य निर्देशनालय धनकुटाका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, समितिका सदस्य एवम् स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेशकुमार श्रेष्ठ विरुद्द मुद्दा दायर गरिएको हो ।
त्यस्तै, ठेक्का पाउने कम्पनी हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशला पण्डित र बजार व्यवस्थापक मनोजकुमार आचार्य विरुद्द पनि मुद्दा दायर गरिएको छ । यसमा सामान आपूर्ति गर्ने कम्पनी हस्पिटेकलाई पनि विपक्षी बनाइएको छ ।






